हजुरबा तपाईं साच्चै महान हुनुहुन्छ…!!!

hajurbuwa
हजुरबा तपाईं साच्चै महान हुनुहुन्छ…!!!

क ख ग… लेख्न सिकाउनुभएका हातहरु हेर्नुस् त हजुरबा
आज हजुरकै लागि केही शब्द कोर्न खोज्दैछन
यिनै हातहरु जोडी कोटी नमन छ

ताते ताते गर्दै हिंड्न सिकाउनुभएका खुट्टाहरु
आज जिन्दगीका माइल दुरी पार गर्न सक्ने भएका छन
यिनै घुडा टेकी कोटी नमन छ

कोमल मन मश्तिस्कमा मायाले सिन्चित गर्दै ज्ञानको बिज रोप्नुभयो
अनी शिर उठाइ हिंड्न सिकाउनुभयो
यही शिर हजुर सामु नतमस्तक छ

आफु वर्तन भै यो जीवन झल्लमल्ल पार्नुभएको के म बुझ्दिन र !
आमाबुवाले जन्म दिनुभयो तर हजुरले त जीवन जिउन सिकाउनुभयो
यही जीवन हजुरमै समर्पण छ

सद्चरित्र र सँस्कारको जीवन व्यतित गर्न सधैं प्रेरित गर्नुभयो
मानव हुनुको धर्म, उद्देश्य र महत्व बुझाउनुभयो
यही धर्म हजुरमै निरुपण छ

यि कानहरु अझै’नी लालायित छन ति दन्त्यकथा र लोककथाहरु सुन्न
यि आँखाहरु अझै’नि उत्तिकै उत्सुक छन हजुरका ति खैजडी नाच हेर्न
यो मनलाई धित पुगेको छैन हजुरसङ्गै कोदाली बोकी खेतका गह्रागह्रा डुल्न

उमेरले ८०औँ वसन्त पार गरे पनी हजुरको यो उर्जा र जाँगरले मलाई सधैं हजुरकै
आदर्श र सत्मार्गमा चल्न उत्प्रेरित गरिरहन्छ
हजुरबा तपाईं साच्चै महान हुनुहुन्छ।।।

— हरि
२०७६-०२-१२

Leave a comment